आईएमई जनरल र प्रुडेन्सियल मर्ज भएर आईजीआई प्रुडेन्सियल बन्ने, प्रारम्भिक सम्झौता

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच मर्जसम्बन्धी सम्झाैता भएकाे छ । सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिएर आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बन्ने भएकाे छ ।

आज दुई कम्पनी एकआपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भएकाे हाे । नेपाल बीमा प्राधिकरणको कार्यालयमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्ष लगायत प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा सम्झौता भएकाे हाे ।

सम्झौतामा आईएमईका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल लिमिटेडको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गर्नुभएकाे छ ।

बीमा प्राधिकारणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढ्दै गएको तीव्र प्रतिस्पर्धा तथा अवसरलाई ध्यानमा राखेर एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय पहुँच, अनुभव र क्षमतालाई बढीभन्दा बढी प्रभावकारी बनाउँदै आफ्ना शेयरधनीहरूलाई समायानुकूल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले एक आपसमा गाभिने सम्झाैता भएकाे छ ।

मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आउँदाे विशेष साधारण सभामा लगिने भएकाे छ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवम् डीडीए रिपाेर्ट समेतका आधारमा आईएमई जनरल इन्स्योरेन्स लि.र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात कायम रहने गरी सम्झौता भएकाे छ ।

 

Share your love