अर्बपति एलन मस्कद्वारा ट्विटर खरिद

विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्नुभएको छ ।

इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ समेत रहेका अर्बपति मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गर्नुभएको बीबीसीले जनाएको छ । मस्कले ट्विटर खरिद प्रक्रिया पूरा गरे लगत्तै सीईओ पराग अग्रवालसहित उच्च कर्मचारीलाई बर्खास्त गर्नुभएको छ ।

यस्तै, मस्कले ट्विटरमा चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे, सल्लाहकार सिन एजेडलाई पनि बर्खास्त गर्नुभएको बीबीसीले जनाएको छ ।

केही समयअघि मस्क ट्विटर खरिद सम्झौताबाट बाहिरिन खोज्नुभएको थियो । उहाँको कदमविरुद्ध अदालतमा मुद्दा दायर भएपछि अदालतले मस्कलाई आजसम्मको समय दिएको थियो । सन् २००६ मा स्थापना भएको ट्विटरको स्वामित्व आफ्नो नाममा आएपछि मस्कले अब चरो स्वतन्त्र भयो भनेर लेख्नुभएको छ।

ट्विटरको लोगोमा एउटा चराको आकार छ । त्यसैलाई सङ्केत गर्दै मस्कले चरो स्वतन्त्र भएको बताउनुभएको हो।

 

Share your love