अर्को हप्तासम्म मौसमी वर्षा कायमै रहने

जल तथा मौसम विज्ञान विभागले आउँदाे हप्तासम्म मौसमी वर्षा रहिरहने पूर्वानुमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले याे जानकारी दिनुभएकाे हाे ।

आज बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा वरिष्ठ माैसमविद् रेग्मीले त्यसका लागि विभागले मौसमी प्रणालीकाे निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताउनुभयो ।

वरिष्ठ मौसमविद् रेग्मीले मौसमी वर्षा सकिए पनि जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि स्पष्ट पार्नुभयो । वर्षा सकिए पनि त्यसको जोखिम भने कायमै रहन सक्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘मनसुन अहिले तत्कालै, आज/भोलि नै बाहिरिने सम्भावना छैन । सम्भवतः अर्को हप्ता मौसम बाहिरिन सक्छ । हामीले माैसमी प्रणालीकाे अनुगमन गरिराखेका छौँ । मनसुनी वर्षा सकिएपछि पनि माैसमी गतिविधि रहिरहन सक्छ ।’

विभागले आउँदाे हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भन्नेबारे हिउँदयाम सुरु हुनुअघि नै जानकारी दिने पनि बताएको छ । वरिष्ठ मौसमविद् रेग्मीले आउँदाे हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न नमिल्ने पनि बताउनुभयो ।

जल तथा मौसम विज्ञान विभागले मौसमी अवस्थाबारे २४ घण्टा नै सेवा दिइरहेकाे छ ।

Share your love