अयाेग्य लडाकुलाई २/२ लाख रुपैयाँ बाँड्ने निर्णय तत्काल खारेज गर्न एमालेकाे माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादीका अयोग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले देशको आर्थिक अवस्था भयावह भएको बेला सरकारले अयाेग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय तत्काल खारेज गर्न माग गर्नुभएको हो ।

उहाँले राज्यकोष दोहन गरी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी पैसा दिने निर्णय आफ्नो पार्टीलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभयो । सरकारले त्याे निर्णय तत्काल खारेज नगरे आफ्नो पार्टी त्यसको विरुद्धमा जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने प्रमुख सचेतक गिरीको चेतावनी थियो । गिरीले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गराउन सरकार नलागेको आरोपसमेत लगाउनुभयो ।

यस्तै प्रमुख सचेतक गिरीले झापामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा सत्तापक्षकै मिलेमतोमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुडा प्रहार गर्ने कोसिस गरिएको भन्दै निन्दा र भत्सर्ना गर्नुभयो । उहाँले घटनामा संलग्नहरूलाई सत्तापक्षले उन्मुक्ति दिने प्रयास गरिरहेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो ।

 

Share your love