अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा फौजदारी अदालतमा आत्मसमर्पण

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लागेको आरोप झुट्टा भएको दाबी गर्नुभएको छ । उहाँविरुद्ध विभिन्न ३४ वटा गम्भीर अपराधको अभियोग लागेको छ । यी सबै आरोप मिथ्या भएको ट्रम्पले दाबी गर्नुभएको हो ।

न्युयोर्कको म्यानहटनमा रहेको अदालतमा उपस्थित हुनुअघि उहाँलाई केहीबेर प्रहरीले प्रक्राउ गरेको थियो । आत्मसमर्पण गरेका उहाँलाई हतकडी भने लगाइएको थिएन । अदालतमा झन्डै एक घण्टाको सुनुवाइपछि उहाँ अदालतबाट बाहिरिनुभएको थियो । ट्रम्पविरुद्ध लागेका फौजदारी अभियोगमा पहिलो दिनको सुनुवाइ सकिएको छ । अब अर्को सुनुवाइ डिसेम्बर ४ तारिखमा हुनेछ । ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूमाथि लागेको आरोप झुट्टा भएको र त्यसको कुनै प्रमाण नभएको बताउनुभएको थियो ।

सन् २०१६ मा राष्ट्रपति पदका लागि चुनावी आभियन सुरु भएपछि आफूविरुद्ध विभिन्न मिथ्या आरोप लगाइएको उहाँको दाबी थियो । यस्तै अदालत परिसरमा ट्रम्पका समर्थकले विरोध प्रदर्शन गरिरहेका छन् । त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति बन्नुभएको छ ।

ट्रम्पलाई गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मीलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बाैँ डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइट हाउसबाट महत्त्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति चुनावको मतपरिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद् भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप छ ।

 

Share your love