अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलले युवालाई महत्त्व नदिएको भन्ने कुरा सत्य नरहेको जिकिर गर्नुभएको छ । आज आइतवार काठमाण्डौमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले नेकपा एमालेले काठमाण्डौ महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको उल्लेख गर्दै अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन चुनौती दिनुभयो । उहाँले आफ्ना नयाँ युक्तिहरूलाई अघि सारेर ज्येष्ठ नागरिकका कुरा सुनेर अघि बढ्नुपर्ने बताउनुभयो । देशमा हिंसा सिर्जना भएका कारण युवा परिवार पाल्न विदेश जानुपरेको उहाँको भनाइ छ । उहाँले माओवादी जनयुद्ध सुरु भएपछि युवा विदेश पलायन भइरहेको बताउनुभयो

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले राजनीतिलाई दुस्मनीतिर लैजान खोजेको आरोप लगाउनुभयो । कहिले जातका नाममा, कहिले भूगोलका नाममा नेपालीलाई भिडाउन खोजिएको उहाँले बताउनुभयो । अहिलेको नेपाली समाजलाई स्वस्थ प्रतिस्पर्धातिर जानुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अहिले गठबन्धनमा भएका सरकारले राजनीतिलाई दुस्मनीतिर लैजान खाजेका छन् । हाम्रो समाज स्वस्थ प्रतिस्पर्धातिर जाने कि दुस्मनीतिर रु कहिले जातका नाममा, कहिले भूगोलका नाममा नेपालीलाई भिडाउन खोजिन्छ, सेन्टिमेन्टमा ल्याउन खोजिन्छ । हामीले खोज्नुपर्ने नेपाली पहिचान हो । जातका पहिचान यो भन्यो, अनि एकले अर्कोलाई घृणा गर्‍यो । यसरी नेपालीलाई फुटाउन, विभाजन गर्न खोजिएको छ । त्यसो गर्नु राम्रो होइन, हाम्रो देश विविधतायुक्त देश छ ।’

अध्यक्ष ओलीले उपचारका लागि समेत आफूसँग पैसा नभएको बताउनुभयो । उहाँले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताउनुभयो । घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था नरहेको उहाँको भनाइ छ । उहाँले यो सबै आफ्नो कर्म देशका लागि समर्पित रहेकोले देशकै लागि सम्पत्ति दान बताउनुभयो । देशको विकासका लागि काम गर्दा विरोधीहरूले काम गर्न नदिएको दाबी गर्दै उहाँले देश विकास र समृद्ध बनाउने अभियानमा भने अघि बढिरहने उल्लेख गर्नुभयो ।

Share your love