बजार लाग्ने दिन उनीहरू बिहानै घरबाट निस्कन्छन्, लालबन्दीबाट धुप र मर्चा मगाउँछन् अनि अटोमा राखेर उक्त सामान बजारसम्म पुर्याउँछन्। हेर्दा निकै वृद्ध देखिने यी दुई सम्धिनीले व्यापार गर्न लागेको २० वर्ष भइसकेको छ।
वृद्ध उमेरमा पनि आफ्नो पेसालाई निरन्तरता दिएर देशमै आयआर्जन गर्न सकिन्छ भन्ने उनीहरु उदाहरणीय बनेका छन्। ‘कहिलेकाहीँ बजार जाँदा होस् या कपडा किन्दा होस् छोरा र बुहारीसँग हात फैलाउन पर्दैन,’ तुलीमाया भन्छिन्।
अझ थपमायाका तीन सन्तान छन्। जेठा छोरा वेदबहादुर अहिले परिवारसहित दोलाखाको चरिकोटमा बस्दै आएका छन्। कान्छा छोरा प्रिमान बर्दिबासमा नै बस्छन्, तर खासै काम गर्दैनन्। थपमायाको व्यापारबाट परिवारको भरणपोषणको आधार पनि बनेकी छन्। थपमायाको पुर्ख्यौली घर पनि चरिकोट नै हो। अनि तुलीमायाको दोलाखाकै जिरीमा।
तुलीमायाको भने थपमायाको भन्दा अलि फरक कथा छ। उनको छोराछोरीको नाममा एकैजना छोरा हुन्। पहिले छोरा पर्यटकहरूको भरिया काम गर्थे। तर, अहिले पहिले जस्तो अवस्था छैन। हिमाल जाने पर्यटकहरू सवारी यातायातको प्रयोग गर्न थाले फलस्वरूप कयौँ जना बेरोजगार बनेका छन्। यही सूचीमा तुलीमायाका छोरा पनि परे।
काम नभए पनि तुलीमायालाई कुनै चिन्ता छैन । उनी भन्छिन्, ‘मैले कमाएको पैसाले नै घरपरिवारमा सहयोग पुग्छ, त्यही भएर छोराले काम पाउँदा गरिहाल्छ, नपाउँदा म आफै कमाउँछु।’ थपमाया र तुलीमायाको घर अहिले बर्दिबासमा नै छ। सवारीसाधनको सहयोगले उनीहरू बजारसम्म आउँछन् अनि बेलुका आफै फर्कन्छन्।
‘अहिले नातिनातिनीले अब व्यापा गर्नुपर्दैन भन्छन्। तर, दिनभरि के गरेर बस्नु र भनेर यता आउँछौ, बेच्छौ,’ थपमाया र तुलीमाया एकसाथ भन्छन्। बुढेशकालमा पनि आत्मनिर्भर बन्न सकेको उनीहरुलाई खुसी लागेको बताउँछन्। उनीहरुले बजार लागेको दिन दैनिक पाँच सयसम्मको व्यापार गर्छन् ।
वर्षाैँदेखि वर्दिबासमा बस्दै आए पनि तुलीमाया र थपमायाले बसाइँसराइ दर्ता गराएका छैनन्। जस कारण थपमायाले वृद्धभत्ता दोलाखाबाट बुझ्ने गरेकी छन् भने ७५ वर्षीया तुलीमाया नागरिकताको कारणले वृद्धभत्ता बुझ्न पाएकी छैनन्।