निर्माण सुरु भएको ५१ वर्षपछि सडक कालोपत्रे हुँदै 

कैलाली, सुर्खेत र अछाम जोड्ने चिसापानी–जंगलघाट–मङ्गलसेन सडक निर्माण कार्य थालेको ५१ वर्षपछि कालोपत्रे हुने भएको छ । यो सडक २०२४ सालबाट निर्माण सुरु भएको थियो ।

अछामका तत्कालीन जिल्ला सभापति पञ्चायतकालीन नेता स्वर्गीय हरिप्रसाद भण्डारीले सोही सडकबाट २०२४ चैत २४ गते जिल्ला सदरमुकाम मङ्गलसेनसम्म जीप पुर्‍याउनुभएको थियो । उक्त सडकको गत आर्थिक वर्षमा ट्रयाक निर्माणको काम पूरा भएको र चालू आर्थिक वर्षदेखि कालोपत्रे हुने भएको हो ।

चालु आर्थिक वर्ष २०७९/०८० मा भने सोही सडकखण्डको ५३ किलोमिटर पीच (कालोपत्रे)का लागि ठेक्काको तयारी थालिएको छ ।  कैलालीमा १०, सुर्खेतमा १८ र सबैभन्दा बढी अछाम खण्डमा २५ किलोमिटर गरी ५३ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता गरिने भएको हो ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर हरि शर्मा धितालका अनुसार सुर्खेतको कुँईनेदेखि १८ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का हुँदैछ । अन्य भौतिक संरचना निर्माणका लागि दुई खण्डमा काम जारी छ । ‘सुर्खेत खण्डमा कुइने–जामु–बाबियाचौर–भक्तडी–जंगलघाट सडक हो ।

कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्ष अगाडि २ करोड बजेट छुट्याएर ९ किलोमिटर बाटोको ट्रयाक खोलिएको थियो ।  गाउँपालिकाले ७/८ लाख रकम विनियोजन गर्दै बाँकी क्षेत्रको ट्रयाक खोलेको थियो । “जलजला कन्ट्रक्सनले कटिङको काम मात्र गर्दैछ । अनथ–जयवेदी–सनराइज जेभीले चार किलोमिटर नाला बनाएको र तीन किलोमिटरमा नाला बन्न बाँकी छ”, धितालले भन्नुभयो ।

कुइने–बाबियाचौर–जंगलघाट कालोपत्रे सडकका लागि कर्णाली प्रदेश सरकारले ४४ करोड विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले उक्त सडकको १८ किलोमिटर कालोपत्रेका लागि चालु आर्थिक वर्षमा ठेक्का गर्दैछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेश सरकार तथा संघीय सरकारले एक अर्ब ४४ करोड रकम विनियोजन गरेपछि यो सडक कालोपत्रे सुरु हुने भएको छ ।

कैलालीमा १० किलोमिटर सडक कालोपत्रेका लागि ३ करोड, सुर्खेतमा १८ किलोमिटर सडक कालोपत्रेका लागि ४४ करोड र अछाममा २५ किलोमिटर सडक कालोपत्रेका लागि ९७ करोड विनियोजन गरिएको छ ।

चिसापानीदेखि मङ्गलसेनसम्म यो सडकको लम्बाइ १ सय २५ किलोमिटर मात्रै छ । अछाम, सुर्खेतका साथै बाजुरा, डोटी लगायतका जिल्लाका स्थानीयलाई सडकबाट राहत हुने देखिएको छ ।

सडकले अछामको तुर्माखाँद, ढकारीको केही क्षेत्र, कमलबजार र मङ्गलसेन नगरपालिकाका केन्द्र छुनेछ । यो सडकले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई सडक सञ्जालसँग जोड्ने भएको छ ।

Share your love