देशका ९५ प्रतिशत नागरिकमा विद्युतको पहुँच : अबको दुई वर्षभित्र सबै नागरिकमा पुर्‍याउने लक्ष्य

काठमाण्डाै – देशका ९५ प्रतिशत नागरिकमा बिजुली बत्तीको पहुँच पुगेको सरकारले जनाएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अबको दुई वर्षभित्र सबै नागरिकमा विद्युतको पहुँच पुर्‍याउने गरी काम भैरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणको ३७ औँ वार्षिकाेत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै उर्जा मन्त्री पम्फा भुसालले औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि विकास, लिफ्ट मार्फत खानेपानी र सिँचाइ, विद्युतीय सामग्रीको प्रयोग गरी उर्जाको खपत बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले जलस्रोत र उर्जाको दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी समृद्ध नेपाल निर्माणका लागि जुट्न पनि सबै पक्ष र क्षेत्रलाई आह्वान गर्नुभएको छ ।

विद्युत प्रसारण एवं वितरण प्रणालीको विस्तार र गुणस्तर सुधारका लागि उच्च प्राथमिकता दिन मन्त्री भुसालले नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गर्नुभएको छ । सरकारको नीति अनुसार खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले विस्थापित गर्ने, विद्युतीय गाडीहरु प्रवर्द्धन गर्ने, सिँचाइमा विद्युतको पहुँच बढाउने र औद्योगिकीकरण गरी रोजगारी सिर्जना गर्ने क्षेत्रमा प्राधिकरणले ध्यान दिनुपर्नेमा पनि उहाँको जोड छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले प्राधिकरणले निजी क्षेत्रबाट उत्पादित विजुली खरिद गर्दै आएको बताउनुभएको छ । ३७ वर्षको इतिहासमा प्राधिकरणले गएको वर्ष सबैभन्दा धेरै १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको पनि उहाँले बताउनुभयो ।

विद्युत् खपतमा भएको वृद्धि, विद्युत् चुहावट नियन्त्रण, प्राधिकरणको विद्युत् गृहबाट उत्पादित विद्युत् परिमाणमा भएको वृद्धि, ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीको सञ्चालन, विद्युत् आयातमा कमी तथा निर्यातमा भएको वृद्धि र खर्च नियन्त्रणलगायतका कारणले मुनाफा आर्जन भएको कार्यकारी निर्देशक घिसिङको भनाई छ ।

पछिल्लो समय विद्युत् उत्पादन बढ्न थालेकाले अब खपत बढाउनुपर्ने र त्यसमा मुख्य गरी औद्योगिक खपत बढाउनेतर्फ जोड दिन आवश्यक रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभएको छ ।

Share your love