८ जिल्लामा ३८ राउन्ड हवाई फायर, ‘ब्याकअप फाेर्स’ प्रयाेग गर्न परेन

मतदानको क्रममा भएका अवरोध हटाउने क्रममा प्रहरीले आठ जिल्लामा गरी ३८ राउन्ड हवाई फायर गरेको छ । बुथ कब्जा गर्न खोज्नेलाई हटाउन तथा झडप नियन्त्रणको प्रयासमा प्रहरीले ३८ राउन्ड हवाई फायर गरेको नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।

प्रवक्ता राईका अनुसार दोलखा, बाजुरा, रौतहट, सिरहा, चितवन, हुम्लालगायतका जिल्लामा हवाई फायर भएको हो । यस्तै मतदानका क्रममा विभिन्न विषयमा विवाद हुँदा देशभर २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएको राईले बताउनुभयो । ४४ मध्ये ३२ वटा मतदान केन्द्रको मतदान फेरि सुरु भइसकेको छ ।

४४ वटा मतदान केन्द्रमा मतदान प्रभावित भएको भए पनि सबै ठाउँको अवस्था सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र कतै पनि ब्याकअप फोर्स प्रयोग गर्न नपरेको राईले बताउनुभयो । अप्रिय घटना नभएको र तुलनात्मक रुपमा चुनाव शान्तिपूर्ण रुपमा भैरहेको उहाँले बताउनुभयो ।

 

Share your love