७ महिनामा व्यापार घाटा ८ खर्ब २५ अर्ब रुपैयाँ नाघ्याे

चालु आर्थिक वर्ष २०७९/८० को सात महिनाकाे अवधिमा नेपालको व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ नाघेको छ । भन्सार विभागले आज बुधवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । यसमध्ये नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको देखिएको हो ।

यो अवधिमा नेपालले गरेको वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत र निर्यातको हिस्सा नौ दशमलव २३ प्रतिशत छ । गएकाे माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट दुई खर्ब १२ अर्ब १२ करोड ७४ लाख रुपैयाँ बराबर भन्सार राजस्व उठेको विभागको तथ्याङ्कबाट देखिन्छ । गएकाे आर्थिक वर्ष २०७८/७९ को सात महिनाकाे अवधिमा नेपालले गरेको वैदेशिक व्यापारको तुलनामा यस वर्षको त्यही अवधिमा गरेको व्यापार २० दशमलव ८४ प्रतिशतले घटेको छ ।

त्यस्तै गएकाे वर्षको तुलनामा आयात १९ दशमलव ९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको विभागले जनाएको छ । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत हो । माघ मसान्तसम्ममा नेपालले भारतबाट पाँच खर्ब ७० अर्ब ९६ करोड ९७ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ । यही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने ६६ अर्ब २२ करोड ६५ लाख रुपैयाँ बराबरमात्रै छ । सात महिनाकाे अवधिमा चीनबाट एक खर्ब २५ अर्ब पाँच करोड २४ लाख रुपैयाँ बराबरको आयात हुँदा ४२ करोड २६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएकाे छ ।

यो अवधिमा नेपालले वैदेशिक व्यापार गरेको तेस्रो ठूलो देश इन्डोनेसिया हो । इन्डोनेसियाबाट ५७ अर्ब नाै करोड ६९ लाख रुपैयाँ बराबरको आयात हुँदा १० करोड ३६ लाख रुपैयाँ बराबरमात्रै निर्यात भएको छ । त्यस्तै संयुक्त अरब इमिरेट्स (यूएई) बाट २० अर्ब २६ करोड २५ लाख रुपैयाँ बराबरको सामान आयात हुँदा २५ करोड ८९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

अर्जेन्टिनासँग १८ अर्ब ५६ करोड रुपैयाँ बराबरको आयात र १० लाख २० हजार रुपैयाँ बराबरकाे निर्यात भएको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात गरेको छ । विभागका अनुसार छ महिनामा ८४ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ बराबरको डिजल, ३८ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बराबरको पेट्रोल र ३३ अर्ब ३४ करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ । यही अवधिमा नेपालले २६ अर्ब ४२ करोड ४२ लाख रुपैयँ बराबरको अप्रशोधित सोयाबिन तेल आयात गरेको छ ।

त्यसैगरी २३ अर्ब ६६ करोड रुपैयाँ बराबरको फलाम, १८ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ बराबरका सुनजन्य वस्तु, १७ अर्ब ७६ करोड रुपैयाँ बराबरको अप्रशोधित पाम आयल र रू १४ अर्ब ७६ करोड ८३ लाख बराबरको स्मार्टफोन आयात भएको देखिन्छ ।

सात महिनाकाे अवधिमा नेपालबाट सबैभन्दा धेरै पाम आयल निर्यात भएको छ । यो अवधिमा १३ अर्ब ९२ करोड ६७ लाख बराबरको पाम तेल निर्यात भएको देखिएको हो । त्यस्तै सोयाबिन तेल आठ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । विभागका अनुसार चार अर्ब ८९ करोड रुपैयाँ बराबरको अलैँची र दुई अर्ब ५८ करोड ३४ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ ।

वैदेशिक व्यापार गर्ने सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सार हो । वीरगञ्ज भन्सारबाट सात महिना अवधिमा तीन अर्ब ४३ करोड ६३ लाख ४३ हजार रुपैयाा बराबरको सामान आयात भएको छ भने २३ अर्ब २८ करोड ४० लाख रुपैयाँ बराबरको निर्यात भएको छ । नेपालले यो अवधिमा गरेको वैदेशिक व्यापारमा वीरगञ्जबाट मात्र ३७ दशमलव ३९ प्रतिशत आयात भएको छ भने निर्यातको २४ दशमलव ९२ प्रतिशत हिस्सा रहेको छ ।

त्यस्तै भैरहवा भन्सारबाट एक खर्ब ३० अर्ब ५३ करोड ९३ लाख रुपैयाँ बराबरको आयात र पाँच अर्ब ४२ करोड ७० लाख रुपैयाँ बराबरकाे निर्यात भएको छ । विराटनगर भन्सारबाट एक अर्ब छ करोड ९० लाख १९ हजार रुपैयाँ बराबरको आयात हुँदा २५ अर्ब ५३ करोड ८० लाख रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ ।

 

Share your love