७० प्रतिशत मतपत्रको छपाई सकियो

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाई सम्पन्न भएको छ ।

हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित प्रणाली गरी कूल संख्याको करिब ७० प्रतिशत मतपत्र छपाई सम्पन्न भएको छ । समानुपातिक प्रणालीको मतपत्र धमाधम ढुवानी भइरहेको छ । पहिलो हुने निर्वाचित प्रणालीतर्फ आजसम्म एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोग जानकारी दिएको छ । सो मध्ये प्रतिनिधिसभाका लागि ८७ लाख एक हजार र प्रदेशसभाको ८० लाख ५७ हजार पाँच सय मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाई सम्पन्न भइसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । अब नौ जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ । ढुवानी भएकामध्ये प्रदेशसभाका लागि एक करोड ९६ लाख १७ हजार तथा प्रतिनिधिसभातर्फ एक करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ । अब प्रदेशसभाको पाँच लाख ६८ हजार तथा प्रतिनिधिसभाको पाँच लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ ।

निर्वाचनमा कूल एक करोड ७९ लाख ८५ हजार ७० मतदाता रहेका छन् । यी मतदाताले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चार मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । निर्वाचनका लागि झण्डै आठ करोड मतपत्र आवश्यक पर्छ ।

Share your love