५३ अङ्कले बढेर शेयर बजारमा हरियाली

अर्थ मन्त्रालयले शेयर कारोबारको नाफामा लाग्ने करमा नयाँ व्यवस्था नहेको स्पष्ट पारेसँगै शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५३ दशमलव शून्य तीन अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ३७ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा होटल, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई सय ७० वटा कम्पनीका ४५ लाख ५७ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ६३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड ८१ लाख रुपैयाँमा किनबेच भयो ।

आज आईजीआई प्रुडेन्सियल इन्सुरेन्सको शेयर १० प्रतिशत तथा सामुदायिक लघुवित्त, सोल्टी होटल र तारागाउँ रिजेन्सीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । आज केही म्युचल फन्डको शेयरमात्रै सामान्य घटेको छ ।

यसअघि लगानीकर्ताले ब्रोकर कम्पनीलाई धम्की दिँदै कारोबार नगर्न चेतावनी दिएपछि बजार खुलेको डेढ घण्टामा मात्रै कारोबार सुरु भएको थियो । अर्थ मन्त्रालयले शेयर कारोबारको नाफामा लाग्ने करमा नयाँ व्यवस्था नहेको स्पष्ट पारेपछि कारोबार खुलेको हो ।

कारोबार रोकिएपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आन्दोलनरत लगानीकर्तालाई मन्त्रालयमा बोलाएर करबारे स्पष्ट पार्नुभएको छ । अर्थ मन्त्रालयले निकालेको सूचनामा प्राकृतिक व्यक्तिको कारोबारबाट भएको लाभमा सात दशमलव पाँच प्रतिशत र पाँच प्रतिशतको कर यथावत रहेको र थप व्यवस्था नरहेको उल्लेख छ । आन्दोलनरत लगानीकर्तासँग छलफल गर्दै अर्थमन्त्री महतले शेयरको कर सम्बन्धमा सरकार लगानीकर्ताको पक्षमा रहेको बताउनुभएको छ ।

 

Share your love