५०/६० वर्ष अगाडि हामी खाद्यान्नमा आत्मनिर्भर थियौँ, अहिले उल्टो भयो- अध्यक्ष प्रचण्ड

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताउनुभएको छ ।

आज आइतवार काठमाण्डौमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताउनुभएको हो ।

उहाँले देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले कृषिमा गरिने लगानी देशका लागि आवश्यक भएको बताउनुभयो । अध्यक्ष दाहालले कृषिपछि जलविद्युत्, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभयो ।

अध्यक्ष दाहालले धन, सम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी, संसारमा नेपालीको आत्मसम्मान हुने गरी सम्पत्ति आर्जन गर्न युवालाई आग्रह गर्नुभयो । आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिका लागि व्यतित गर्ने उहाँको भनाइ छ ।

Share your love