३ महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्त्वपूर्ण काम सम्पादन गरेर नागरिकमा आशा जगाउन सफल भएको जिकिर गर्नुभएको छ । शुक्रवार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले थिति बसाल्न तीन महिनामा महत्त्वपूर्ण काम भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्त्वपूर्ण काम भएका छन् । मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ ।’

राजस्व सङ्कलनमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति बढेको र रेमिट्यान्समा सुधार आएको उल्लेख गर्दै प्रधानमन्त्रीले सेवा प्रवाह गर्ने कार्यालयका लामा–लामा लाइन हटेको बताउनुभयो । राहदानी, सवारी चालक अनुमतिपत्रलगायतका काममा विगतको झन्झट हटेको जनाउँदै उहाँले यसलाई ठिक ढङ्गले बुझेर नागरिकमा लैजानुपर्ने बताउनुभयो ।

‘सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण काम भएका छन् । कानुन निर्माणका कामले गति लिएका छन्’, उहाँले भन्नुभयो, ‘एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो । त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो छ । आज सरकार विस्तार भएपछि सरकारले गति लिन्छ ।’

नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र संविधानले महिला अधिकारलाई उचाइका साथ प्रबन्ध गरेको बताउनुभयो ।

बैठकमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापाले सङ्गठनको पछिल्लो अवस्था र आउँदा दिनमा सम्पादन गर्नुपर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो ।

 

अन्तिम अपडेट: चैत १७, २०७९

Share your love