हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति पाैडेल

राष्ट्रपति रामचन्द्र पौडेलले देश निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताउनुभएको छ । बुधवार नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाल समृद्ध बनाउनुपर्ने भन्दै देशमा विकासको ठूलो सम्भावना रहेको र यसका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालका निर्माण व्यवसायीको समस्याबारे आफू जानकार रहेको स्पष्ट पार्दै उहाँले आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न व्यवसायीलाई सुझाव दिनुभयो । देश निर्माणको जिम्मेवारी निर्माण व्यवसायीको काँधमा रहेको उहाँको भनाइ छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले व्यवसायीमैत्री ऐन, कानुनको अभावमा विगतमा व्यवसायीले धेरै झमेला सामना गर्नुपरेको गुनासो गर्नुभयो । सार्वजनिक खरिद नियमावलीको १२ औँ संशोधनका कारण भने निर्माण उद्योगमा केही सुधार देखिएको अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

पछिल्लो समय राज्यले व्यवसायीलाई भुक्तानी नदिँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको विषयमा अध्यक्ष सिंहले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा महासङ्घको तर्फबाट पौडेललाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना गर्नुभयो ।

 

Share your love