गाउँँमा लगातार हात्तीले दुःख दिन थालेपछि शिकारीबासका स्कूले विद्यार्थीहरू गाउँँ नै छाडेर डेरामा बस्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जको घना जङ्गलभित्र अवस्थित पर्साको ठोरी गापा–३ मा पर्ने शिकारीबासका विद्यार्थीहरू हात्तीकै कारण घर छाड्न बाध्य भएका हुन् ।

जिल्लाकै विकट मानिने शिकारीबामा कक्षा ५ सम्म अध्ययन हुने आधारभूत तहको एकमात्र विद्यालय छ । कक्षा ५ सम्म अध्ययन पूरा गरेपछि यहाँका विद्यार्थीहरू थप शिक्षाका लागि दैनिक चितवन राष्ट्रिय निकुञ्ज अथवा पर्सा राष्ट्रिय निकुञ्जको घना जङ्गल छिचोलेर निर्मलबस्ती वा गापा कार्यालय रहेको घ्याङ्डाँडा पढ्न जानुपर्ने बाध्यता छ । केही वर्षअघिसम्म यहाँका विद्यार्थीहरू ठोरी–३ मा नै पर्ने नेरामावि, ओडार पढ्न जाने गरेकामा जङ्गल घना हुँदै गएको र जनावरको समेत डर हुन थालेपछि ठोरी–४ को निर्मलबस्ती र घ्याङ्डाँडामा जान थालेका हुन् । जङ्गलकै बाटो ओहोरदोहोर गर्नुपर्ने भएपनि ओडार जाने बाटोको तुलनामा गाईवस्तु चराउन गोठाला जाने र सरसामान किन्न आउने गाउँँका स्थानीयको चहलपहलका कारण विद्यार्थीहरू ठोरी–४ मा रहेको विद्यालयमा जान थालेका हुन् ।

उता तुलनात्मकरूपमा जङ्गल पार गर्ने बित्तिकै आउने र अन्य विद्यालयभन्दा केही नजीकमा पर्ने  निर्मलबस्तीमा रहेको नेरा आधारभूत विद्यालयमा कक्षा ८ सम्म मात्र अध्ययन हुने भएकोले माध्यमिक तह अध्ययन गर्न  निर्मलबस्तीबाट पनि थप चार किलोमिटर टाढा ज्ञानज्योति मावि, घ्याङ्डाँडा  जानुपर्ने बाध्यता उनीहरूलाई छ ।

ती दुवै विद्यालय अध्ययन गर्न शिकारीबासका विद्यार्थीले हरेक दिन पर्सा राष्ट्रिय निकुञ्जको करीब सात किलोमिटर लामो घना जङ्गल छिचोल्नुपर्ने बाध्यता रहेको घ्याङ्डाँडामा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी अजय थारूले बताए । उनले बितेको एक महीनायता लगातार धानबाली खानका लागि हात्ती बस्तीमा आउने क्रम नरोकिएकाले हात्तीकै डरका कारण गाउँ छोडेर डेरामा बस्नुपरेको बताए ।

“विद्यालय जाँदा र फर्किंदा बाटोमा नै कतिबेला हात्तीले आक्रमण गर्ने हो भन्ने डर छ,” थारूले भने, “अब धान नकाटुन्जेलसम्मका लागि भएपनि विद्यालयनजीकै डेरा लिएर बसेका छौं ।”

कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने करीब २० जना विद्यार्थी अहिले विद्यालयनजीकै निर्मलबस्तीमा डेरा लिएर बसेका छन् ।

धानबाली काट्ने बेला भएपछि गाउँनजीकै हात्ती बस्ने र जतिबेला पनि आक्रमण गर्ने डरले गर्दा अभिभावकहरूले नै घर ओहोरदोहोर गर्न नदिएको कक्षा १० मा अध्ययन गर्ने अर्का विद्यार्थी राकेश चौधरीले बताए । “अब  हात्तीको आतङ्क नहटेसम्म डेरामा बस्ने र पछि गाउँबाट नै विद्यालय आवतजावत गर्ने विचारमा छौं,” चौधरीले भने ।

बाटोमा हात्तीसँग जम्काभेट भइहाल्यो भने पनि आफूहरूमा भाग्न सक्ने हिम्मत भएपनि भाइबहिनीहरू भाग्न नसक्ने भएकाले जोखिम भएको उनको भनाइ छ ।

अधिकांश विद्यार्थीले डेरा लिएका छन् भने केही भने चिनजानकै व्यक्तिको घरमा बस्दै आइरहेका छन् । शिकारीबासमा बितेको महीना दिनयता रात परेपछि धानबाली खान हात्तीले लगातार दुःख दिंदै आइरहेको छ । आजको प्रतीक दैनिक बाट