हत्या आरोपित २ जना पक्राउ

प्रहरीले हत्या आरोपी २ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । आमा हत्या आरोपमा छोरा र पत्नी हत्याका अभियुक्त पति पक्राउ परेका हुन् । ४ दिनअघि निजगढ नगरपालिका-१२ बुङजोरकी ७२ वर्षीया कान्छीमाया घलानको हत्या गरेको आरोपमा उनका ४३ वर्षीय छोरा समी लामालाई हेटौंडा-१ स्वर्गद्वारीबाट बुधबार पक्राउ गरिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

कुलो छेउमा भाँडा माज्दै गरेकी आमालाई ढुंगाले हानेर हत्या गरी नजिकैको झाडीमा शव लुकाएको आरोप समीमाथि लागेको छ । शव फेला पारेपछि समिलाई पक्राउ गरेर बिहीबार अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

यस्तै, कलैया उपमहानगरपालिका-१ पर्सा गाउँका ३४ वर्षीय संयोग शर्मालाई २८ वर्षीय पत्नी हत्या आरोपमा पक्राउ गरी अनुसन्धान थालिएको छ । गत माघ ९ मा उनले पत्नी आशा शर्मालाई राति सुतेको अवस्थामा घाँटी थिचेर हत्या गरी भर्‍याङमाथिबाट खसालेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । हत्या आरोपी संयोगले लडेर मृत्यु भएको देखाउन खोजेको भए पनि प्रहरीले तिनलाई हत्या नै गरेको आधार फेला पारेको जनाएको छ ।

‘तेस्रो पटकको प्रयासमा दुवैले आफ्नै परिवारका सदस्यलाई हत्या गरेका हुन्,‘दुवै आरोपीलाई पोलिग्राफबाट जाँच गर्दा यिनैले हत्या गरेको खुलेको छ,’ प्रहरी उपरीक्षक बोगटीले भने, ‘दुवै घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।’ प्रहरीका अनुसार हत्या घटना लुकाउन दुवैले अधिकतम प्रयास गरेको देखिन्छ ।

Share your love