स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले २०७२ सालमा जारी गरिएको नेपालको संविधानले स्वास्थ्यको हकलाई नागरिककाे मौलिक हकको रूपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुने गरी ऐनहरू तर्जुमा गर्नका लागि सरकारले आवश्यक गृहकार्य र पहलकदमी गरिरहेको दाबीसमेत गर्नुभयो ।

शुक्रवार काठमाण्डाैमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तेस्रो दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताकाे सम्बोधन हुने गरी अनुसन्धानको काममा थप प्रगति हासिल गर्ने गरी अगाडि बढ्न प्रतिष्ठानलाई निर्देशन दिनुभयो । उहाँले विकास आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गरी देशकाे समृद्धिको यात्रालाई सुनिश्चित गर्न सरकार लागिपरेको उल्लेख गर्दै त्यसमा स्वास्थ्य क्षेत्रको पनि रचनात्मक एवम् सकारात्मक प्रयास, सहयोग र प्रतिबद्धता जरुरी रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारी अस्पतालमा रहेका स्वास्थ्य सामग्रीहरूको दुरुपयोग हुन नदिन पनि प्रतिष्ठानका पदाधिकारीहरूलाई सचेत गराउनुभयो । उहाँले जनगुनासो नआउने गरी सेवा प्रवाहको कामलाई चुस्त बनाउन सरकारी अस्पतालहरूले जोड दिनुपर्ने बताउनुभयो ।

 

Share your love