स्वास्थ्य संस्थाबाट भागे २ कैदीबन्दी

क्षयरोग निवारण संस्थामा उपचाररत दुई जना कैदीबन्दी फरार भएका छन् । उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन् । दुवै जना जिल्ला कारागार झापामा थिए । क्षयरोग देखिएपछि विराटनगरस्थित उक्त संस्थामा भर्ना गरिएको थियो

क्षयरोग लागेपछि उनीहरु भदौ र असारबाट निवारण संस्थामा भर्ना भएका थिए । जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसीराम भगतका अनुसार उपचारका क्रममा उनीहरु शनिबार विहान सबेरै फरार भएका हुन् ।

उपचारका क्रममा फरार भएका कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले फरार भएका कैदीबन्दीको खोजी तिब्र बनाइएको बताए । उनले सुरक्षामा खटिएका प्रहरीमाथि पनि छानबिन भइरहेको बताए । ‘फरार भएकाहरुको खोजीकार्य जारी छ’, उनले भने, ‘ड्युटीमा लापरवाही देखिएकाले आन्तरिक छानबिन पनि गरिरहेका छौं ।’

जिल्ला कारागार मोरङका निमित्त जेलर भगतका अनुसार हेमरम जबरजस्ती करणी मुद्दाका कैदी हुन् । झापा गाउँपालिका–५ का बासिन्दा उनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला भएको थियो । झापा गाउँपालिका ३ का गुरुङ भने लागूऔषध मुद्दामा पुर्पक्षका लगि थुनामा थिए । जिल्ला अदालत झापाले उनलाई २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

‘विभागको निर्देशनपछि दुई जनालाई क्षयरोग निवारण संस्थामा राखेर उपचार हुँदै थियो’, उनले भने,‘ मैले पनि फरार भएको जानकारी आज विहान जानकारी पाएँ ।’

Share your love