स्वदेशमै रोजगारी सिर्जना गर्न प्रविधि कम्पनी खाेल्नुपर्छ : चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा नेपालले प्रविधिमा फड्को मार्न नसकेको बताउनुभएको छ ।

मङ्गलवारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मल्लले नेपाल सूचना र प्रविधिको क्षेत्रमा धेरै अघि बढ्नुपर्ने भए पनि अहिलेसम्म सोचेअनुसारको अघि बढ्न नसकेको बताउनुभयो । उहाँले आउँदा दिनमा देशलाई डिजिटलाइजेशनमार्फत सूचना प्रविधिको विकास गरी सूचना प्रविधिमा आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष मल्लले सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न प्रविधि कम्पनीहरू खोल्नुपर्ने बताउनुभयो । प्रविधि क्षेत्रलाई प्रवर्धन गर्नसके नेपालमा रोजगारी सिर्जना हुनुका साथै विदेश पलायन भइरहेका नेपाली विद्यार्थीलाई नेपालमै रोक्न सकिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभ्यो, ‘सञ्चार तथा प्रविधि क्षेत्रमा फड्को मार्ने कुरामा सरकारी नीति, नियम र एकद्वार प्रणाली सेवा नभएर हामी पछि परेको हो कि भन्ने लागेको छ । आईटी क्षेत्रमा लागेका व्यक्तिलाई यो क्षेत्रमा पार्टटाइमको काम गर्ने व्यवस्था गर्नुपर्छ । उद्योग व्यवसाय क्षेत्रमा विद्यार्थीलाई लगाउने काम देशले गर्नैपर्छ ।’

अध्यक्ष मल्लले कुनै पनि विदेशी कम्पनी नेपालमा आउँदा कम्पनीमा ज्वाइन्ट भेन्चर्स सिस्टम लागू गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विदेशी कम्पनीसँग नेपालका कम्पनीले पनि धेरै कुरा सिक्न आवश्यक रहेको बताउनुभयो । अर्थतन्त्रको सूचक नकारात्मक रहेकाले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लाग्नुपर्ने उहाँले बताउनुभयो ।

 

Share your love