सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाइँ (तस्बीरहरू)

नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार विशेष समारोहकाबीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ ।

नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २६० औं स्थापना दिवस मनाएको हो । सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी गरेका थियो । राष्ट्रपति भण्डारीले सो अवसरमा त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो । हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो ।

सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्रा भ्यास) तथा तोप बढाइँ, कवाज लगायतका विविध सैनिक कला र साँस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति समेत भएको थियो । जङ्गीअड्डा मातहतका मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण र गुल्म लगायत निकायमा साेही दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा हुनुहुन्छ । नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ । संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको सूचीमा नेपाल अग्रणी स्थानमा पर्दछ ।

 

Share your love