सिके राउत पनि बालकोटमा

जनमत पार्टीका अध्यक्ष सिके राउत बालकोट पुगेका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच छलफल जारी रहँदा राउत बालकोट पुगेका हुन्।

बालकोट पुगेका राउतले सञ्चारकर्मीसँग भने, ‘मैले यहाँ बैठक भइरहेको भन्ने सुनेर आएको हो। बैठकमा हाम्रा कुरा राख्नेछु। पहिले देखिनै हामीले हाम्रो पार्टीको बटम लाइन भनिसकेका छौँ। त्यही बटमलाइनका विषयमा छलफल हुनेछ।’

राउत आफू सरकारमा जानै पर्ने बाध्यकारी अवस्था भने नरहेको बताए। उनले भने, ‘सरकारमा हामी जानै पर्छ भन्ने छैन। किनकि हामी नभइ सरकार बन्दैन भन्ने पनि छैन। हाम्रा बटमलाइन पूरा भए दोस्रो कुरा हो।’

सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीमा सहमति नजुटेपछि नयाँ सत्तासमीकरण बनाउन एमालेसहित राजनीतिक दलहरु सक्रिय भएका हुन्।

बैठकमा  केपी ओली,प्रचण्ड,नारायणकाजी श्रेष्ठ,शंकर  पोखरेल, रवि लामिछाने, देव गुरुङ, विष्णु पौडेल, वर्षमान पुन र विष्णु रिमाललगायतका नेताहरु उपस्थित छन्।

केहीबेर अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए।

Share your love