सार्वजनिक स्थलमा मास्क अनिवार्य : स्वास्थ्य मन्त्रालय

सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएको भन्दै मास्क अनिवार्य गरेको जानकारी गराएको हो ।

यस्तै मन्त्रालयले भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संजयकुमार ठाकुरले निकाल्नुभएको विज्ञप्तिमा सेनिटाइजरको प्रयोग गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने लगायत स्वास्थ्यका मापदण्ड पालना गर्न पनि अनुरोध गर्नुभएको छ ।

विज्ञप्तिमा कोभिड–१९ को बुस्टर डोज खोप लगाउनु पनि अपील गरिएको छ । अंग्रेजी नयाँ वर्ष, क्रिसमस लगायत कुनै पनि भिडभाड हुने स्थलमा विशेष सतर्कता अपाउन समेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा बीएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकोले खुल्ला सीमाना र आवतजावतका कारण जोखिम रहेको मन्त्रालयको भनाई छ ।

Share your love