सहिद परिवारलाई राहत

धनुषा — मधेस प्रदेश सरकारले मधेस आन्दोलनका क्रममा सहिद भएकाका परिवारलाई नगद २ लाख रुपैयाँसहित सम्मान गरेको छ । मधेस आन्दोलनको क्रममा माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई यहाँ बलिदानी दिवसका रुपमा मनाइन्छ । प्रदेश सरकारले उक्त दिवसमा बिहीबार प्रदेशमा सार्वजनिक बिदा दिएको थियो ।

प्रदेश सरकारले ८ वटै जिल्लाबाट आएका सहिदका परिवारलाई कम्मलसहित २ लाख रुपैयाँको चेक प्रदान गरेको थियो । मधेसी सहिद प्रष्ठिानले आयोजना गरेको कार्यक्रममा ६१ सहिदका परिवारलाई कम्मलसहित २ लाख रुपैयाँ उपलब्ध गराएको छ । मधेस प्रदेशका बिनाविभागिय मन्त्री संजय यादवले सहिदका परिवारलाई रकम हस्तान्तरण गरे ।

प्रदेश सरकारले सहिद परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । अघिल्लो वर्ष बलिदानी दिवसको अवसरमा ६१ सहिदका परिवारलाई सरकारले ३/३ लाख रुपैयाँ उपलब्ध गराएको थियो । कार्यक्रममा मधेस आन्दोलनका घाइते वीरगन्जका मनासिफ पटेललाई २ लाखको चेक उपलब्ध गराइएको मधेसी सहिद प्रतिष्ठानका सदस्य रामनरेश रायले बताए । आन्दोलनमा घाइते पटेल हिँडडुल गर्न नसक्ने भएकाले उनलाई राहत रकम उपलब्ध गराइएको रायले बताए ।

कार्यक्रम स्थलमा मधेस आन्दोलनमा घाइतेहरूले प्रदेश सरकारको विरोधमा प्रदर्शनसमेत गरे । घाइतेहरूलाई सरकारले सम्बोधन गर्न नसकेको उनीहरूको आरोप थियो । सहिद प्रतिष्ठानले मधेस प्रदेशका सहिदका परिवारलाई भरणपोषणका लागि मासिक २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरे पनि अझैसम्म कार्यान्वयन हुन सकेको छैन ।

Share your love