सर्लाहीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सर्लाहीको मानपुरमा दुइटा मोटरसाइकल एक आपसमा जुध्दा एक युवकको ज्यान गएको छ । ठक्कर दिने चालक भने फरार भएका छन् ।बसबरिया गाउँपालिका–१ मानपुरमा शनिबार अबेर साँझ दुइटा मोटरसाइकल एकआपसमा जुध्दा स्थानीय १८ वर्षका रवीन्द्र कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतक यादव प्रदेश–२–०२००१प ११३४ को मोटरसाइकमा जाँदै गर्दा पछाडीबाट बीआर ०र्६एके २१७० नम्बरको भारतीय प्लेटको मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्कर दिने भारतीय नम्बर प्लेटको मोटरसाइकल सहित त्यसका चालक सोही ठाउँका मनोजकुमार यादवलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएकोमा मनोज भने प्रहरी नियन्त्रणबाट उम्किन सफल भएका छन् ।

गाउँमा भीड बढेको तथा प्रहरीको संख्या कम भएकाले मनोज भाग्न सफल भएको प्रहरीले जनाएको छ । स्थानीयले भने मनोजलाई पक्राउ गर्नुपर्ने भन्दै बिहानैदेखि मानपुरको प्रहरी चौकी घेरेका छन् ।

ठक्कर दिनेको नाम र ठेगाना खुलिसकेकाले उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । मृतकको शव भने पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

Share your love