सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

सर्लाही : सर्लाहीको ब्रम्हपुरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। दुर्घटनामा महोत्तरीको इटहर्वाकट्टी – ७ घर भएका ५७ वर्षीय सुरेन्द्र मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार साँझ ब्रहम्पुरी गाउँपालिका – ३ स्थित हुलाकी सडक खण्डमा पर्साबाट मलंगवातर्फ आउँदै गरेको ज.२ त. ५२७ नम्बरको ट्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको बीआर ३० भी. १६७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालकको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सर्लाहीको रामनगर गाउँपालिका-४ का ३१ वर्षीय सञ्जय मण्डल गम्भीर घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ। दुर्घटनापछि ट्याक्टर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Share your love