सर्पले टोकेको भन्दै उपचार गराउन अस्पताल सर्प लिएर पुगे

भारतको उत्तर प्रदेशमा रहेको मऊस्थित जिल्ला अस्पतालमा एक युवक सर्प बोकेर पुगेपछि हंगामा मच्चिएको छ । आफूलाई त्यही सर्पले टोकेको भन्दै उपचार गराउन उनले चिकित्सकहरूसँग आग्रह गरे । सर्प देखेर अस्पतालका कर्मचारीहरू तर्सिए ।

सर्प बोकेर जाने युवकको नाम धर्मेन्द्र यादव हो । माछा मार्नका लागि आफूले जाल हालेको अनि त्यस जालमा फसेको एक सर्पले आफूलाई टोकेको उनको भनाइ छ ।

यादवले सर्प मारेर बोरामा राखेका थिए । त्यसपछि उपचार गराउन उनी फतहपुर मंडाव पुगे । कुन सर्पले टोकेको भनी चिकित्सकले सोध्दा उनले बोराबाट निकालेर देखाए । त्यसलाई देखेर चिकित्सकहरू तर्सिए । सर्प मरिसकेको छ भनेपछि बल्ल उनीहरू आश्वस्त भए ।

Share your love