सरकारी सेवा र पानीको उचित व्यवस्थापन गर्न प्रकाशमानलाई मतदाताकाे आग्रह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले सरकारी सेवाको उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेको बताउनुभएको छ ।

आज शनिबार काठमाडौं क्षेत्र नम्बर १ मा आम मतदाताहरुसँग घरदैलो कार्यक्रममा मतदाताहरुले आफूलाई पानी र सरकारी सेवाहरुको छिटो छरितो व्यवस्थापनमा जोड दिन आग्रह गरेको बताउनुभएको हो । उहाँले विगतका वर्षमा भन्दा यस वर्ष मतदाताहरुले निर्वाचनका सन्दर्भमा राम्रो प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै नागरिकका मागहरु सम्बोधन गर्न आफू हरेक समय तयार रहेको बताउनुभयो । काठमाडौं क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहनुभएका नेता सिंहले जनताको मेलम्चीको पानीको गुनासो र तीनै तहका सरकारलाई व्यवस्थित बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले संघीयता अनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको गुनासो आम नागरिकले गरेको बताउनुभयो । उहाँले यसअघिका दुई निर्वाचन संविधान लेख्नमा लागेको र संधिवान जारी गरिसकेपछि कार्यान्वयन गर्ने बेलामा कांग्रेसले जनमत नपाएकाले व्यवस्थित हुन नसकेको भन्दै आगामी निर्वाचनपछि कांग्रेसले संविधानको अक्षरशः कार्यान्वयन गर्ने बताउनुभयो । नेता सिंहले सत्तारुढ पाँच दलीय गठबन्धन संविधानको रक्षा र राजनीतिकस्थिरताका लागि भएको बताउनुभयो ।

नेता सिंहले देशमा विकास गर्नका लागि राजनीतिक स्थिरताको आवश्यक रहेको भन्दै संविधानको रक्षा र स्थिरताले नै विकास निर्माणको कार्यलाई गति दिने उल्लेख गर्नुभयो । उहाँले देशमा राजनीतिकस्थिरता कायम गरी हरेक नेपालीको जीविकोपार्जन सहज बनाउन जरुरी रहेको बताउनुभयो ।

Share your love