सरकारी दस्तावेज सुरक्षा जोखिममा

विदेशी ह्याकरले आक्रमण गर्दा पटक–पटक सर्भर डाउन

काठमाडौं : सरकारको सर्भर शनिबार दिनभर पटक–पटक ‘डाउन’ भएको छ। जसकारण सरकारी दस्तावेज सुरक्षा जोखिममा देखिएका छन्। सरकारी डेटा चोर्ने उद्देश्यका साथ विदेशी ह्याकरले आक्रमण गरेको राष्ट्रिय सूचना केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले बताए।

‘विदेशी ह्याकरहरूले पटक–पटक अट्याक गरिरहेका छन्। जसकारण केन्द्रीय सर्भर डाउन भइरहेको छ’, पोखरेलले अन्नपूर्ण पोस्ट्सित भने, ‘डेटा चोरी नहोस् भनेर हाम्रा प्राविधिकहरू सर्भर सुरक्षाका लागि निरन्तर खटिरहनुभएको छ।’
कुन देशबाट ह्याकरको आक्रमण भयो भन्ने अहिल्यै नखुलेको उनले सुनाए। ‘यस विषयमा अध्ययन भइरहेको छ। भोलि (आइतबार)सम्म विस्तृत विवरण आउँछ’, उनले भने। 

पहिलो पटक शनिबार मध्याह्न १२ बजेतिर आक्रमण गरेको केन्द्रका एक कर्मचारीले बताए। त्यससँगै डाउन भएको सर्भर झन्डै पाँच घण्टापछि ‘रिकभर’ भएको थियो। फेरि साँझ साढे ७ बजे ह्याकरको आक्रमणकै कारण बन्द भएको ती कर्मचारीको भनाइ छ।

‘सुरुमा हेर्दा सामान्य प्राविधिक समस्या होला भन्न ठानेका थियौं। तर, पटक–पटक सर्भरमा आक्रमण भएपछि गम्भीर समस्या रहेको आकलन गर्‍यौं’, उनले भने।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सर्भरमा आएको समस्याबारे अनुसन्धान भइरहेको बताए। ‘सर्भर समस्याको पहिचान गर्न प्राविधिक टोली खटिरहेको छ। अनुसन्धानपछि विस्तृत विवरण आउनेछ’, प्रवक्ता पोखरेलले भने।
सरकारको केन्द्रीय सर्भर डाउन हुँदा सरकारी वेबसाइट बन्द भए। अति संवेदनशील क्षेत्रको काम प्रभावित बन्यो। अध्यागमन विभागको सफ्टवेयर नचल्दा विदेशबाट आवतजावत गर्नेको विवरण संकलनमा समस्या आयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमुख बासुदेव घिमिरेले सर्भर डाउन हुँदा म्यानुअली रूपमा विवरण संकलन गर्नुपरेको बताए। जसकारण  अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित बन्न पुगेको घिमिरेले सुनाए।

अध्यागमन विभागको ‘नेपाली पोर्ट’ सफ्टवेयर नचल्दा दुई घण्टाभन्दा बढी उडान प्रभावित भएको हो। घन्टौंपछि सरकारी सर्भर चले पनि काम प्रभावित भएको घिमिरेले बताए। सरकारी सर्भरलाई प्रभावकारी नबनाएसम्म अध्यागमनजस्तो संवेदनशील क्षेत्र प्रभावित भइरहने उनको भनाइ छ।

‘सर्भर डाउन हुँदा अति संवेदनशील क्षेत्र पनि प्रभावित हुन्छ भन्ने कुरा बुझ्नपर्‍यो। सर्भरलाई रिलायबल (विश्वसनीय) बनाउन दक्ष जनशक्ति आवश्यक पर्छ भने त्यो पनि राख्नुपर्‍यो’, उनले भने, ‘सर्भरमा समस्या आउँछ। त्यसको तत्काल समाधान हुनुपर्छ भन्ने हाम्रो भनाइ हो। दुई–तीन घन्टामा पनि नबन्ने सर्भर हाम्रा लागि गम्भीर कुरा नै हो।’ उनले व्यकअप सर्भर राख्ने विषयमा अध्यागमन कार्यालमा छलफल भएको बताए। ‘अध्यागमनजस्तो क्षेत्रमा ब्याकअप सर्भर आवश्यक पर्छ भनेर यो घटनाले देखाएको छ। यस विषयमा छलफल पनि सुरु भएको छ’, उनले भने।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले उडान प्रभावित बनेपछि ‘म्यानुअली’ रूपमा अन्तर्राष्ट्रिय उडान गरेको बताए। सर्भर डाउन हुँदा विवरण संकलनमा समस्या आएपछि म्यानुअली रूपमा काम सुरु गरेको ठाकुरले बताए।

‘सर्भर डाउन भएपछि विवरण संकलनमा समस्या आयो। एकछिनमा सर्भर खुलिहाल्छ कि भन्ने नि भयो। तर, लामो समय सर्भर नखुलेपछि म्यानुअली विवरण संकलन गरेका हौं,’ उनले भने। उनले विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताए।

Share your love