सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दैछ । हिजो अबेरसम्म  बसेको बैठकमा कुनै निर्णय हुन नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजे बस्ने छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ  ।

नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलासँगै गुमेको गृह मन्त्रालय पुनः पाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको माग छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको पूर्णपाठ नआइसकेको तथा सभापति रवि लामिछानेको राहदानी विवाद छानबिनको विषय बनेकाले अस्वीकार गर्दै आउनु भएको छ ।

हिजो गृहबाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रस्ताव गर्नु भएको थियो । यस विषयमा लामिछानेले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिनु भएको थियो । त्यसपछि हिजो अबेरसम्म बैठक बसेको थियो । तर बैठकले कुनै पनि निर्णय गर्न सकेन । आज निर्णायक छलफल गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताउनु भएको छ ।

नागरिकता विवादमा सर्वोच्चको फैसलापछि लामिछाने सांसदसहित उपप्रधान र गृहमन्त्रीबाट पनि पदमुक्त हुनुभएको थियो ।  नेपाली नागरिकता पुनः प्राप्ति गरेलगत्तै उहाँले गृहमन्त्रीमा पुनर्बहाली गर्न दबाब दिनु भएको थियो । तर, गृह मन्त्रालय दिन नसकिने प्रधानमन्त्री प्रचण्डको अडान पछि उहाँले सरकारलाई दुई दिनको अल्टिमेटम दिनु भएको  थियो । यो अल्टिमेटम हिजो नै सकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो ।

 

Share your love