सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा ५ दिनभित्र तयार पारिने

सत्ता गठबन्धनको आज बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र तयार पार्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका अध्यक्षहरुको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र तयार पार्ने निर्णय गरेको हो । मस्यौदाका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति बन्ने भएको उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेले जानकारी दिनुभयो ।

समितिका लागि हरेक राजनीतिक दलले सदस्य तोक्ने निर्णय भएको छ । आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने सहभागी हुनुहुन्थ्यो ।

बैठकमा मन्त्रीपरिषद् विस्तारबारे पनि छलफल भएको छ । मन्त्रीमण्डल बिस्तार गर्दा योग्यताको आधारमा बिस्तार गर्ने भन्ने विषयमा पनि छलफल भएको गृहमन्त्री लामिछानेको भनाइ छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै छलफल र सम्वाद तिब्र पारेका प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ ।

त्यस्तै आजको बैठकमा प्रदेश सरकारमा शक्ति बाँडफाँडको बारेमा पनि छलफल भएको छ ।

 

Share your love