सम्भावित शान्ति सम्झौताका लागि रुसलाई युक्रेनकाे कुनै पनि भू–भाग दिँदैनाैँ : राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीले सम्भावित शान्ति सम्झौताका लागि रुसलाई आफ्नो कुनै पनि भू–भाग दिन नसकिने बताउनुएको छ । उहाँले रुसलाई जमिन दिनु भनेको उसलाई बोलाइरहनुभएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले पश्चिमा देशको हतियारको सहयोगमा शान्ति कायम हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीले वसन्तयामको आक्रमण सुरु भइसकेको भन्दै युक्रेनी फौज रुसी आक्रमणको प्रतिरोध गर्न सक्ने बताउनुभएको छ । रुसले हतियारको भाषामात्रै बुझ्ने जेलेन्स्कीको भनाइ छ । युद्ध कहिले अन्त्य हुन्छ भन्ने बीबीसीको प्रश्नमा उहाँले युक्रेन आफ्नो अस्तित्वका लागि लडिरहेको जवाफ दिनुभयो ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको यही फेब्रुअरी २४ अर्थात् एक हप्तापछि एक वर्ष पूरा हुँदैछ । तर पनि युद्ध रोकिने कुनै सङ्केत छैन । युद्धबाट भएको क्षतिको स्वतन्त्र पुष्टि भएको छैन । रुसी रक्षा मन्त्री सेर्गेई सोइगुले गएको सेप्टेम्बरमा झन्डै छ हजार रुसी सैनिकको ज्यान गएको बताउनुभएको थियो । त्यसयता रुसले क्षतिको कुनै जानकारी गराएको छैन । युक्रेनतर्फ भने डिसेम्बर २ मा राष्ट्रपति जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोडोल्याकले १० देखि १३ हजारसम्म युक्रेनी सैनिकको ज्यान गएको बताउनुभएको थियो ।

युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले भने दुवैतर्फ कम्तीमा एक लाख सैनिकको ज्यान गएको हुनसक्ने बताएको छ । ज्यान गुमाउने गैरसैनिकको सङ्ख्याकाे बारेमा भने स्वतन्त्र पुष्टि भएको छैन । युद्धका कारण युक्रेनमा भौतिक संरचनाको ठूलो क्षति भएको छ ।

Share your love