समझदारी अनुसार बेलायत रोजगारी निःशुल्क हो, झुटो प्रलोभनमा नपरौँ – श्रम मन्त्रालय

नेपाल र बेलायतबीच श्रम समझदारी भएपछि नेपाली नर्सहरूलाई बेलायतमा रोजगारी प्रदान गर्ने भन्दै विभिन्न व्यक्ति तथा संस्थाहरूले नेपाल सरकारका सम्बन्धित अधिकारीहरूसँग समन्वय गरिदिन्छु भन्दै झुटो आश्वासन देखाएर ठगी रहेको भन्दै मन्त्रालयले त्यसतर्फ सचेत गराएको हो ।

नेपाल सरकार र बेलायत सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीहरूलाई रोजगारी प्रदान गर्ने गरी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार श्रम मन्त्रालय र बेलायत सरकारका सम्बद्ध अधिकारीसँग श्रम समझदारी कार्यान्वयनको ढाँचालाई अन्तिम रूप दिने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

दुई देशका सरकारका प्रतिनिधिले तयार गरेको कार्यान्वयनको ढाँचा नेपाल सरकारले स्वीकृत गरेपछि मात्रै नेपालबाट स्वास्थ्यकर्मीहरू बेलायत रोजगारीमा जाने प्रक्रिया सुरु हुन्छ ।

सरकार सरकारबीचको प्रक्रिया अनुसार जाँदा कुनै पनि शुल्क लाग्दैन भने छनौट प्रक्रिया पनि पारदर्शी बनाउन बेलायतको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालय र नेपालबाट वैदेशिक रोजगार विभागबाट संयुक्त रूपमा कार्यान्वयन हुने छ ।

बेलायत रोजगारीमा पठाउनका लागि विभागमा व्यवस्थित छुट्टै कार्यान्वयन इकाई समेत स्थापना भइसकेको मन्त्रालयले जनाएको छ ।

Share your love