सन्दीप लामिछाने धरौटी तिरेर आज रिहा हुँदै

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी तिरेर आज रिहा हुँदैछन् । हिजो उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० लाख धरौटी माग गरेको थियो ।

नाबालिग बलात्कार मुद्दामा काठमाण्डौ जिल्ला अदालतले गएको कात्तिक १८ गते मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । त्यसैमा सुनुवाइ गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।

धरौटी रकम जम्मा भएपछि आज उनलाई थुनामुक्त गराइने छ । उच्च अदालतले लामिछानेबाट धरौटीस्वरूप २० लाख रुपैयाँ नगद वा बैंक जमानत मात्रै स्वीकार गर्ने, जेथा राख्न नपाइने भनेको छ । धरौटीमा छाड्दै अदालतले सन्दीपलाई सर्तसमेत राखेको छ।

मुद्दाको फैसला नभएसम्म सन्दीपलाई नेपालबाहिर जान रोक लगाइएको छ । त्यस्तै जाहेरीकर्ता र उनका परिवारसँग भेटघाट, सम्पर्क, त्रास, दबाब नदिन र उनीहरूलक्षित कुनै सामग्री सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा टीप्पणी नगर्न भनिएको छ । सर्त उल्लङ्घन भए आदेश स्वतः निष्क्रिय हुने अदालतको आदेशमा उल्लेख छ।

Share your love