सन्दीप लामिछानेबिरुद्ध अभियोजन पत्र दर्ता गरिने

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध आज सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोजन पत्र दायर गरिने भएको छ ।

नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र दायर गर्न लागेको हो ।

१० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अभियोजन पत्र दायर गरिने काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

मुलुकी अपराध संहिता, २०७४ मा १८ वर्षभन्दा कम उमेरको करणी मुद्दामा परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिने भएको छ ।

अभियोजनपत्र दायर पछि अदालतमा सन्दीपको बयान र थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ ।

एक किशोरीले सन्दीप विरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा आफूमाथि बलात्कार भएको जाहेरी दिएकी थिइन् । स्वदेश फर्किने क्रममा गत असोज २० गते उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

Share your love