सन्दीपका वकिल भन्छन्- राज्य नै सन्दीपविरुद्ध लाग्यो

नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको छ । बिहीबार कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई नियन्त्रणका लिन ठूलो संख्यामा प्रहरी तैनाथ थिए ।

सन्दीपले नै सामाजिक सञ्जालमार्फत आज बिहान नेपाल आइपुग्ने र आत्मसमर्पण गरेर कानुनी लडाइँ लड्ने बताएका थिए । तर, प्रहरीले सन्दीपले कुरा सुनेनन् ।

सन्दीपका वकिलले पनि प्रहरीले सन्दीपको मागलाई अस्वीकार गरेको बताएका छन् । बिहीबार पत्रकारहरुसँग सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले आफ्नो उपस्थितिमा आत्मसमर्पण गर्न क्रिकेटर सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको बताएका हुन् ।

नाबालिगमाथि बलात्कारको आरोप लागेका सन्दीपलाई पक्राउ गर्न प्ररहीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि उनी बहीबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका हुन् । उननले वकिल घिमिरेको उपस्थितिमा आत्मसमर्पण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।

अधिवक्ता घिमिरे बिहीबार बिहान प्रहरी वृत्त, गौशाला पुगेका थिए । तर, उनी त्यहाँ पुग्दा प्रहरी विमानस्थलमा पुगिसकेको बताए । उनले भने, ‘गौशालामा आएपछि भेटौं भनेर बसें । उहाँहरुले लिएर आउनुभयो । भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो ।’
विमानस्थलबाट नियन्त्रणमा लिएलगत्तै प्रहरीले सन्दीपलाई मेडिकल जाँचका लागि केएमसी अस्पताल लगिएको थियो । त्यहाँबाट सन्दीपलाई गौशाला लगिएको छ ।

अधिवक्ता घिमिरेका अनुसार सन्दीपले निरन्तर आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताउँदै आएका छन् । तर, जाहेरी पर्दा प्रहरीले गोपनीयता कायम नगरेको, सञ्चार माध्यममा एकपक्षीय कुरा मात्र आएको घिमिरेको भनाइ छ ।

उनले भने, ‘प्रहरीले एकपक्षीय रुपमा मात्र लिएको छ । त्यसैले सन्दीपले सिंगो राज्य आफ्नोविरुद्ध लागेको महसुस गरेका छन् ।’ उनले राज्य नै आफूविरुद्ध लाग्दा सन्दीप मानसिक तनावमा रहेको समेत बताए । यसअघि सन्दीपले पनि आफू मानसिक तनावमा रहेको बताएका थिए ।

Share your love