सत्ता गठबन्धन लगभग टुट्यो : एमाले, माओवादी, रास्वपा र राप्रपा मिलेर सरकार बनाउने तयारी

नयाँ सरकार गठनको विषयलाई लिएर सत्ता गठबन्धन लगभग टुटेको छ भने नयाँ गठबन्धन बनाउने दलहरूले तयारी गरेका छन् । नयाँ सरकार गठनका विषयमा निर्णय गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग मिलेर सरकार बनाउने तयारी थाल्नुभएको छ ।

अहिले माओवादी अध्यक्ष प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटमा जानुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोटमै हुनुहुन्छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा मिलेमा बहुमत पुग्नेछ । एमालेको ७८, माओवादीको ३२, रास्वपाको २० र राप्रपाको १४ गरेर एक सय ४४ सिट पुग्नेछ । सरकार बनाउन एक सय ३८ सिट भए पुग्छ ।

यसअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछाड्ने अडान लिएपछि माओवादीका नेताहरू बाहिरिएका थिए । माओवादीले राष्ट्रपति कांग्रेसले राखे पनि सुरुको दुई वर्ष आफूहरूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको थियो । तर कांग्रेसले सुरुको दुई वर्ष प्रधानमन्त्री नछाड्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न सकेन । माओवादीले यसअघि कांग्रेसलाई पटक–पटक सहयोग गरेकाले यस पटक सघाउन आग्रह गरेको थियो तर कांग्रेसले माओवादीको प्रस्ताव मानेको छैन ।

Share your love