सत्ता गठबन्धनबाट बाहिरिएको जसपाका मन्त्रीलाई हटाउने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाउने तयारी गर्नुभएको छ । यसका लागि देउवाले सत्ता गठबन्धनको बैठक बोलाउनुभएको बालुवाटार स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनमा रहेको जसपाले आउँदो चुनावमा नेकपा एमालेसँग गठबन्धन गरेर उम्मेदवारी दिएपछि नैतिकताको आधारमा मन्त्रीहरूले राजीनामा दिनुपर्नेमा राजीनामा नदिएपछि प्रधानमन्त्रीले नै हटाउने तयारी गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । तर निर्वाचन आचारसंहिता लागू भइसकेकाले मन्त्रीहरू हटाउँदा कुनै कानुनी अड्चन आउने हो या होइन भनेर प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग पनि छलफल गर्ने योजना बनाउनुभएको छ ।

जसपाबाट सरकारमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् । आजको सत्ता गठबन्धनको बैठकमा गठबन्धनका उम्मेदवारविरुद्ध परेको बागी उम्मेदवारी फिर्ता गराउने विषयमा पनि छलफल हुनेछ ।

 

Share your love