सडक विभागको बेथिति : एउटै हाकिलाई २ कार्यालयको तालाचाबी, दर्जनौं योजना अलपत्र

विकास निर्माणका काम अपेक्षित रुपमा अघि नबढेकोमा चौतर्फी चिन्ता प्रकट भइरहेका बेला सडक विभागको नमूना बेथिति सार्वजनिक भएको छ । राजनीतिक पहुँच र प्रभावका आधारमा दुई वटा कार्यालयको हाकिमको जिम्मेवारी लिएका दरोगाप्रसाद साहको कार्यशैलीका कारण ५ जिल्लामा सञ्चालित दर्जनौं योजना अलपत्र परेका छन् ।

हुलाकी राजमार्ग कार्यालय वीरगञ्ज र सडक डिभिजन कार्यालय रौतहटको प्रमुखको जिम्मेवारीमा कायम रहन सफल साह आफ्नो पदीय जिम्मेवारीमा भने असफल बन्दै गएका छन् । उनी कार्यालयमा हतपत भेटिदैनन् । यसबारेमा बुझ्न टेलिफोन सम्पर्क गर्दासमेत उनी आफू निकै व्यस्त भएकाले भन्दै कुरा गर्न मानेनन् ।

सडक र पुल निर्माणको काम लगाएका यी कार्यालयसँग सरोकार राख्ने सेवाग्राही र निर्माण व्यवसायीहरूले पटकपटक प्रयास गर्दा पनि साहलाई भेट्न सक्दैनन् । जसका कारण बारा, पर्सा र चितवनका भालु खोला, अरुवा खोला, भरतपुर माडी ठोरी हुलाकी राजमार्गका रतनी खोला, बादमुढे खोला, चिताइ खोला, पतरी खोला, टुनामुना खोला, मगई खोला, बगइ खोला, घाघर खोलालगायतका पुल निर्माणले गति लिन नसकेको निर्माण व्यवसायीहरू बताउँछन् ।

२०७२ सालदेखि यी योजना अधुरै छन् । जसका कारण जनताले सास्ती खेप्नु परेको छ । रौतहटको निजढ बंकुल सडक, गौर पिप्रा समनपुर सडक, भेडियाही सडक, ब्रम्हपुरी पडरिया, मर्यादापुर, गम्हरीया लक्ष्मीपुर, हरिहरपुर कटानी, सखुवा भेलाही, मैनाथपुर, निचुटाहलगायका सडक र पुलहरूको काम सन्तोषजनक नभएको सडक विभागका एक अधिकारीले बताए ।

ती कामको जिम्मा लिएका निर्माण व्यवसायीको भुक्तानीसमेत रोकेर राखेका छन् । कार्यालयमा सम्पर्क गर्न जाँदा भेट नै नहुने एक निर्माण व्यवसायीले गुनासो गरे ।

Share your love