संविधान रक्षाका लागि अन्तिम समयसम्म प्रयासरत रहने प्रधानमन्त्री दाहालको प्रतिवद्वता

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गर्ने वा नगर्ने भन्ने विषय सत्तासाझेदार दलहरु भित्रको मात्रै विषय नभएको बताउनु भएको छ । .

मंगलबार दाहालले राख्नु भएको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले सो विषयमा प्रधानमन्त्रीको धारणा माग गरिरहँदा प्रधानमन्त्री दाहालको यस्तो जवाफ आएको हो ।

उहाँले संविधानको कार्यान्वयन गर्नेदेखि सबै विषयमा सत्ता साझेदार दलहरुले न्यूनतम साझा कार्यक्रम बनाएको र आफूलाई त्यसबाट दायाबायाँ हुने कुनै पनि छुट नरहेको समेत स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री दाहालले संविधानको भावना र मर्म अनुसार अघि बढन सत्ता साझेदार दलहरु प्रतिवद्ध रहेको पनि पटकपटक दोहो¥याउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान सबै ठूला राजनीतिक दलहरुको सहमतीमा बनाइएको र त्यसलाई कार्यान्वयन गरेर जाने कुरामा सत्तासाझेदार दलहरुबीच पनि एकमत रहेको उहाँको भनाई थियो ।

प्रधानमन्त्री दाहालले संविधानको रक्षाका निम्ति आफू अन्तिम समयसम्म प्रयासरत रहने पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले संसदलाई सर्वोपरी ठानेर सरकार अघि बढने पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले जेलमा रहेका पूर्व सांसद रेशम चौधरीको विषय अप्ठ्यारो रहेको भन्दै प्रक्रिया पुरयाएर रिहा गर्ने पनि उल्लेख गर्नु भयो ।

Share your love