संघीय संसद कोइरीको पक्षमा, जनकपुरधाममा प्रदर्शन

महोत्तरी क्षेत्र नं‍ १ बाट निर्वाचित लक्ष्मी महतो कोइरीको पक्षमा जनकपुरधाममा प्रदर्शन गरिएको छ।
नेकपा एमालेबाट निर्वाचित कोइरीलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भए पनि पक्राउ नगरिएको भन्दै आलोचना भइरहेको समय मधेस प्रदेशको राजधानी जनकपुरधाममा उनको पक्षमा प्रदर्शन भएको हो ।

मधेस आन्दोलनका अगुवा दिनेश पूर्वेको नेतृत्वमा जनकपुरधामको भानुचोकदेखि निकालिएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो।

उनीहरुले सरकार तथा प्रहरी प्रशासनविरुद्ध नारावाजी समेत गरेका थिए । प्रदर्शनमा सहभागी नागरिक अगुवा रामरिझन यादवले कोइरीलाई बदनियतपूर्ण ढंगले फसाउन खोजिएको आरोप लगाए ।

उनले मधेसका आन्दोलनको क्रममा आन्दोलनकारीले थमन विकको हत्या गरे पनि त्यहाँ सांसद कोइरीको उपस्थिति समेत नरहेको दाबी गरे। कोइरीले माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गिरिराजमणी पोखरेललाई हराउँदै निर्वाचित भएका थिए।

Share your love