शैक्षिक गुणस्तर परीक्षणमा गौरीशङ्कर मावि पहिलो

निजगढ नगरपालिका–८ स्थित गौरीशङ्कर मावि शैक्षिण गुणस्तर परीक्षणमा बारा जिल्लामैं पहिलो स्थानमा परेको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमीद्वारा देशभरका विद्यालयहरूको अनुगमन, निरीक्षण गरी मूल्याङ्कन गर्दा देशभरमा १४४औं स्थान, मधेस प्रदेशमा ५औं स्थान र बारा जिल्लामा पहिलो स्थानमा पर्न सफल भएको प्रधानाध्यपक बद्रीनारायण झाले जानकारी दिए ।

यस विद्यालयले ७९।५७ अङ्क प्राप्त गरेको शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमीले जनाएको छ । विद्यालयको भौतिक संरचना, समुदायको सहभागिता, शिक्षण सिकाइ प्रक्रिया, शैक्षिक उपलब्धि, नेतृत्व व्यवस्थापनलगायतका विविध क्षेत्रको मूल्याङ्कन गरिएको थियो ।

केही वर्षको अन्तरालमा विद्यालयहरूको अवस्थालाई स्थलगतरूपमा अनुगमन, निरीक्षण गरी आगामी वर्षहरूमा शैक्षिक क्षेत्रको अझै सुधार र विकासका लागि शिक्षा नीतिमा समावेश गर्ने उद्देश्यले सरकारले यस कार्यलाई निरन्तरता दिंदै आएको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएयतादेखि विद्यालय व्यवस्थापन समिति गठनका लागि पटक–पटक प्रयास गर्दा पनि अहिलेसम्म समिति गठन हुन नसक्दा विद्यालयले थप प्राप्त गर्न सक्ने अङ्क गुम्न पुगेको विद्यालय प्रशासनले जनाएको छ ।

शैक्षिण गुणस्तर परीक्षण केन्द्रले विद्यालय व्यवस्थापन समिति गठनका बारेमा पनि जानकारी लिने र सोही अनुसारको मूल्याङ्कन गरी अङ्क प्राप्त गर्न सक्ने व्यवस्था भएकामा विद्यालयले प्राप्त गर्न सक्ने सो अवसर गुम्दा शैक्षिक गुणस्तर परीक्षणमा थप अङ्क प्राप्त गर्न नसकेको विद्यालयका शिक्षकशिक्षिका, विद्यालय प्रशासनको ठहर छ ।

त्यसैगरी, निजगढ नपा–६ स्थित गौरीशंकर मावि, सडकटोलले ७१।१५ र श्री सार्वजनिक मावि बागदेवले ६९।५२ अङ्क प्राप्त गरेका थिए ।देशभरका चार हजार ८६७ वटा सामुदायिक विद्यालय शैक्षिक गुणस्तर परीक्षणमा सहभागी थिए । आजको प्रतीक दैनिक बाट 

 

Share your love