शिक्षा स्वास्थ्य र सुरक्षामा नगरलाई नमुना बनाउँछु – नगर प्रमुख चौधरी

सप्तरीको सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले शिक्षा, स्वास्थ्य र समाजका संवेदनशील वर्गको सुरक्षाको सवालमा नगरले आउने पॉच वर्षभित्र नमुना काम गर्ने बताउनुभएको छ । दशैं लगायतको चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नगरप्रमूखले सो कुरा बताउनुभएको हो ।

शिक्षाले मात्रै बेरोजगारी हटाउने तर्क गर्नुहुँदै नगरभित्र सवल नेपालले सम्मुनति कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र जिविकोपार्जनको क्षेत्रमा काम गर्दैआएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो । नगरभित्रका असहाय, ज्येष्ठनागरिकहरुका निम्ति विशेष कार्यक्रम बनाउने उहाँले बताउनुभयो ।

वडामा ढलानभन्दा कालोपत्रे सडक तथा उपभोक्ता भन्दा टेण्डरमार्फत काम गराएर दीर्घकालिन र गुणस्तरीय काम गर्न गराउन सुरुङ्गा नगरपालिका वडा नम्बर ८ का विमलप्रसाद चौधरीले सुझाउनुभयो । धाँती प्रहरी चौकीका इन्चार्ज असई राजकिशोर पटेलले चाडपर्वको वखत हुन सक्ने अवान्छित गतिविधिवारे प्रहरी समक्ष जानकारी दिन आग्रह गर्नुभयो ।

जनकपुर चुरोट कारखानाका अवकाश प्राप्त प्रमुख नागेन्द्रप्रसाद चौधरीले विजया दशमीको मर्म नै दुराभावमाथि सत्य, न्याय र सुन्दर भावको जीत हुनु भएको बताउनुभयो । समाजमा एकले अर्कोलाई दोषभन्दा आफ्नो ठाउँको जिम्मेवारी स्वयम निर्वाह गर्न सक्नुपर्छ उहाँले भन्नुभयो ।

दशै, दिपावली र छठको अवसरमा आयोजित कार्यक्रममा सुरुङ्गा नगरका प्रवक्ता शिवमणी पासवान, शिक्षिका सुनिता साह, पूर्व कर्मचारीहरु चन्द्रनारायण चौधरी, डम्बरनारायण साह, सावित्री देवी, पवनी चौधरी लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

Share your love