व्यवसायमैत्री कानुन निर्माणका लागि सधैं तयार छु : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानुन निर्माणका लागि आफू सधैं तयार रहेको बताउनु भएको छ । उहाँले उद्योग व्यवसायमैत्री कानुन निर्माण गर्नका लागि राजनीतिक दलहरु र सांसदहरुसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले देशभित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानुनको अभाव हुन नदिन आफू सचेत रहेको बताउनु भयो । व्यापार गरी नाफा कमाउनु व्यवसायीहरुको धर्म भए पनि सामाजिक उत्तरदायित्व बहन गरी देशको दिगो विकासमा अझै बढी योगदान पुर्‍याउन पनि उहाँले व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

सभामुख घिमिरेले देशको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउनका लागि सम्बन्धित सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले देशको अर्थतन्त्रलाई खल्बल्याउने खालका कुनै पनि गतिविधि हुन नहुने बताउनु भयो ।

Share your love