विराटनगर र काठमाण्डौ नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा प्रवेश

विराटनगर सुपर किंग्स र काठमाण्डौ नाइट्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा पुगेका छन् । आज विराटनगरले काठमाण्डौलाई हराएर प्लेअफमा स्थान पक्का गरेको हो भने फार वेस्टले पोखरालाई हराउँदा काठमाण्डौले पनि प्ले अफमा पुग्ने मौका पाएको हो ।

त्रिवी क्रिकेट मैदानमा भएको पहिलो खेलमा  विराटनगरले काठमाण्डौलाई ७ विकेटले हरायो । काठमाण्डौले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका कप्तान रोहित पौडेलले ६६ रन तथा गौरान्शु शर्माले नटआउट ५१ रन बनाए ।

दोस्रो खेलमा फार वेस्ट युनाइटेडले पोखरा एभेञ्जर्सलाई ४१ रनले हरायो । १ सय ८८ रनको लक्ष्य पछ्याएको पोखरा १८ ओभर १ बलमा एक सय ४६ रनमा अलआउट भयो । उसका लागि प्रतिस जिसीले ११ बलमा ३४ रन बनाए भने उपुल थरङ्गाले ३६ रन बनाए । फार वेस्टका दुर्गेश गुप्ताले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टका हशमतुल्लाह शाहिदीले ६७ र विनोद भण्डारीले ५९ रन बनाए ।

भोलि पहिलो क्वालिफायरमा शीर्ष स्थानको लुम्बिनी अल स्टार्स र दोस्रो स्थानको जनकपुर रोयल्सले खेल्नेछन् । विजेता सिधै फाइनलमा पुग्नेछ, हार्ने टोलीले एलिमिनेटरको विजेतासँग खेल्नेछ । यस्तै, विराटनगर र काठमाण्डौले प्ले अफ खेल्नेछन् । हार्ने टोली बाहिरिनेछ भने जित्ने टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटरमा लुम्बिनी र जनकपुरको विजेतासँग खेल्नेछ ।

 

Share your love