विदेशी मुद्रा विदेश लैजान खोज्दा …

काठमाण्डाै – राजस्व अनुसन्धान विभागले अनधिकृतरूपमा परिवर्त्य विदेशी विनिमय ओसारपसार गरेको अभियोगमा सतमान पुनविरुद्ध काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले पुनले आठ हजार दुई सय बराबरको युरो अनधिकृतरूपमा विदेश लैजान खोजेको आरोप लगाएको छ ।

पुन गएकाे असार २४ गते पुन काठमाण्डाैबाट दोहा हुँदै बेल्जियम जान लागेका थिए । रुकुम पूर्व उत्तरगङ्गा–१० घर भइ बेल्जियमको नागरिकसमेत भइसकेका पुन विदेशी विनिमय अपचलन गरेको अभियोगमा पक्राउ परेका थिए । कुनै पनि विदेशी नागरिकले नेपाल आउँदा ल्याएको रकम भन्सार स्वघोषणा गरेको बाहेक पाँच हजार अमेरिकी डलर वा त्याे बराबरको परिवर्त्य मुद्रा मात्रै फिर्ता लैजान पाउने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमयसम्बन्धी परिपत्रको समेत पुनले बर्खीलाप गरेको पाइएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागले गएकाे भदौ ३० गते पुनविरुद्ध मुद्दा दायर गरेको भए पनि आवश्यक प्रक्रिया पुर्‍याउन समय लागेकाले आज आइतवार विज्ञप्तिमार्फत जानकारी दिएको जनाएको छ ।

यस्तै विभागले भारतीय नागरिक अंकुर घनश्याम पटेलविरुद्ध पनि जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको छ । विभागका अनुसार आरोपी पटेलले पनि छ लाख ३५ हजार चार सय रुपैयाँ बराबरको विदेशी परिवर्त्य मुद्रा अनधिकृतरूपमा विदेश लैजान खोजेको पाइएको छ । विभागले आरोपी पटेलले विदेश लैजान खोजेको रकम जफत गरी जरीबानासमेत माग दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

विभागले नवलपरासीको सरावल गाँउपालिका–३ का आनन्दप्रसाद कलवारविरुद्ध ४३ लाख ७४ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै यही असोज ६ गते जिल्ला अदालत धादिङमा मुद्दा दायर गरेको छ । अस्थायी प्रहरी पोस्ट सिम्ले धादिङले कलवारलाई केही समय पहिले पक्राउ गरेको थियो । विभागले बिगो बमोजिम जरिबाना र कैद सजायको माग गरेको छ ।

Share your love