विदेशी ब्रान्डको नक्कली रक्सीसहित ३ जना पक्राउ

 प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकाबाट ठूलो परिणाममा विदेशी ब्रान्डकाे नक्कली रक्सीसहित तीन जनालाई पक्राउ गरेको छ । विभिन्न ब्रान्डका नक्कली रक्सीको कारोबार बढेको सूचनाका आधारमा अनुसन्धान गर्दा महालक्ष्मी नगरपालिकाको टीकाथली क्षेत्रबाट नक्कली रक्सीसहित तीन जनालाई पक्राउ गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) डा. मनोज केसीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा दोलखा स्थायी घर भएका निरोज उप्रेती, स्याङ्जाका धर्मी पौडेल र सिन्धुली स्थायी घर भएका गणेशबहादुर रानामगर रहेका छन् । उनीहरूले नक्कली रक्सी बनाइ विभिन्न स्टोरहरूमार्फत प्रचलित दरभाउभन्दा कम मूल्यमा बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले रक्सी बनाउने उद्योग नै खोलेर नक्कली रक्सी नाम चलेका नेपाली तथा विदेशी ब्रान्डका रक्सीकै बोतलमा बिक्री गर्ने गरेको पाइएको एसपी केसीले बताउनुभयो ।

प्रहरीले नक्कली गोल्डेन वाक छ बोतल, ८८४८ भोडका ४८ बोतल, मुगलान चार सय २० बोतल, २०२० एफल ३० बोतल, खुकुरी राम ९२ बोतल र रुस्लान भोडका एक सय ३२ बोतल, डबल ब्ल्याक, रेड लेबलका बोतल बरामद गरेको हाे ।

पक्राउ परेकाहरूलाई कालोबजारी ऐनअनुसारको कारबाही र भन्सार छलीको मुद्दा हालेर कारबाही गर्ने केसीले बताउनुभयो ।

 

Share your love