विगतको भन्दा यसपाली मतदाता शिक्षा प्रभावकारी हुन्छः आयोग

काठमाडौँ – निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने भएको छ। गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचारु गरेको जनाएको हो।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकता खटाएको बताएको छ। गत स्थानीय तहको निर्वाचनमा प्रभावकारी नभएका कारण स्थागन गरेको भए पनि आयोगले यस पटक भने कात्तिक १८ गतेदेखि नै मतदाता शिक्षा शुरु गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

उनले निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउनको लागि मतदाता शिक्षा निर्देशिका, २०७९ निर्माण गरी मतदाता शिक्षा दिइरहेको बताए। उनले निर्देशिकाले समेटेका विभिन्न कार्यक्रम सञ्चालनका लागि मतदाता शिक्षा सामग्रीहरु छपाएर सबै स्थानीयहरुमा वितरण भइसकेको पनि जानकारी दिए।

मतदाता शिक्षाको लागि अडियो सामग्री रेडियो र भिडियो समग्री टेलिभिजन तथा अनलाइनमार्फत प्रशारण भइरहेको उनको भनाइ छ। उनले एक महिना अगाडिबाट नै आयोगले नमूना मतपत्रहरु प्रत्येक जिल्ला निर्वाचन कार्यलयमार्फत जिल्लाका प्रत्येक नगरपालिका र गाँउपालिकामा पुर्‍याएर नगर र पालिकाको एक स्थानमा नमूना मतदान गर्ने गरी बजेटको व्यवस्था गरेकोसमेत उल्लेख गरे।

उनले मुलुकभरका ६ हजार ७५३ वडामा कार्यकर्तामार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको बताए। सहप्रवक्ता अर्यालले स्थानीय तहको मातहतमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएकाले विगतको तुलनामा यो निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुने विश्वास लिएको पनि बताए।

उनले भने, ‘अहिले ६ हजार ७५३ वडाहरुमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। स्थानीय तहको मातहतमा रहेर मतदाता कार्यकर्तामार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएकाले विगतको तुलनामा यो निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुने विश्वास लिएका छौँ।’

सहप्रवक्ता अर्यालले निर्वाचन आयोगले राजनीतिक दलका उम्मेद्वारहरुलाई मतदातसँग मत माग्ने मात्रै नभएर मत हाल्न सिकाउन आग्रह गरेको बताए। राजनीतिक दलमा उम्मेद्वारहरुले मत माग्न जाँदा मत हाल्ने तरिका सिकाउँदा मतदाता शिक्षा थप प्रभावकारी हुने उनको भनाइ थियो। उनले विगतका निर्वाचनहरुमा भन्दा यो निर्वाचनमा मतदाता बढाउने र बदर मत खस्ने प्रतिशत न्यूनीकरण गरी निर्वाचन राम्रो बनाउने योजना रहेको बताए।

Share your love