विकास र समृद्धिको एजेन्डा एमालेसँग मात्र छ- रायमाझी

रोल्पा – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादी ओरालो लागेको पार्टी भएको टिप्पणी गर्नुभएको छ ।प्रेस चौतारी रोल्पाले आज बुधवार लिबाङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता रायमाझीले अहिलेको समयमा एजेन्डा भएको पार्टी एमाले मात्र भएको बताउनुभयो । ‘विकास र समृद्धिको एजेन्डा एमालेसँग मात्र छ’, उहाँले भन्नुभयो, ‘एमाले विकासको पक्षमा छ भने अरू विनाशको पक्षमा छन् ।’

माओवादीतर्फ सङ्केत गर्दै नेता रायमाझीले भन्नुभयो, ‘कुनै–कुनै पार्टीहरू ओरालो यात्रामा छन्, आफ्नो अस्तित्व जोगाउन गठबन्धन गर्न बाध्य छन् ।’ विगतको माओवादी युद्धमा पार्टीभित्रको विद्रोहले रोल्पामा पार्टीलाई ठूलो क्षति पुर्‍याएको स्मरण गर्दै नेता रायमाझीले फेरि पनि रोल्पामा माओवादी पार्टीभित्रबाटै विद्रोहको सङ्केत देखा परेको बताउनुभयो । ‘अरूको धेरै के कुरा गर्नु’, उहाँले भन्नुभयो, ‘तपाईँहरूले थाहा पाइहाल्नुहुन्छ एमाले भनेको तेस्रो शक्तिबाट पहिलो बनेको पार्टी हो, अरू भनेका पहिलोबाट अन्तिमतर्फ पुग्दैछन् ।’

पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका लागि रोल्पा आउनुभएका रायमाझीले एमालेबाट अन्य पार्टीमा कोही पनि नगएको तर माओवादी र अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरूको लहर चलेको जिकिर गर्नुभयो ।

Share your love